काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आज (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने भएको छ।
प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको माग लगाउन भन्दै विभिन्न दलहरुलाई ज्ञापन पत्र बुझाउँदै आएको बारले शुक्रबार प्रधानमन्त्री एवम् सत्तारुढ नेपाली कांग्रेसका सभापति देउवालाई ज्ञापन पत्र बुझाउन लागेको हो।
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवाले ज्ञापन पत्र बुझ्नका लागि शुक्रबार बिहान साढे १० बजेको समय दिएका छन्।
प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमन र नेपाल बारले अघि सारेको न्यायालय शुद्धीकरणको अवधराणका विषयमा छलफल हुने बार अध्याक्ष चण्डेश्वर श्रेष्ठले बताए।
आन्दोलनरत बारका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरुलाई बिहान साढे १० बजे बालुवाटार बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले जानकारी दिए।
बारले यसअघि सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्षा गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्र लगायतलाई ज्ञापन पत्र बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।