काठमाडौं–काठमाडौं जिल्ला सभापतिका लागि कांग्रेसका दुई पक्षले उम्मेदवार चयन गरेका छन्। संस्थापनइतर पक्षबाट नेता प्रकाशमान सिंह निकट सबुज बानियाँले उम्मेदवारी दिने भएका छन्।
सभापति शेरबहादुर देउवापक्षले उपेन्द्र कार्कीलाई उठाउने भएको छ। दुबै पक्षले पत्रकार सम्मेलन गरी आफ्नो समूहको सभापतिको उम्मेदवार अघि सारेका हुन्।
बानियाँ दोस्रो कार्यकालका लागि काठमाडौं जिल्ला सभापतिमा उठ्न लागेका हुन्। संस्थापनइतरबाट उनी सर्वसम्मत उम्मेदवार बनेका छन्।
देउवापक्षमा भने अन्यले पनि दाबी गर्दै आएका थिए। अन्ततः काठमाडौं-२ का क्षेत्रीय सभापतिसमेत कार्कीलाई संस्थापन पक्षले अघि सारेको छ। संस्थापनइतरबाट उम्मेदवारको दाबी गर्दै आएका दामोदर खड्का र राजु श्रेष्ठपछि हटेपछि कार्कीको उम्मेदवारी तय भएको हो। कार्कीलाई सिटौला पक्षका काठमाडौका नेता भिमसेनदास प्रधानको पनि समर्थन छ।
काठमाडौंमा नेता सिंहपक्ष बलियो छ। वडा तहदेखि प्रतिनिधि सभा क्षेत्रसम्म नेता सिंह र गगन थापाको प्यानलले अधिकांश स्थानमा जित्दै आएको छ। तल्लो तहदेखि सहकार्य गरेका दुई नेताले जिल्ला नेतृत्वका लागि गठबन्धनलाई निरन्तरता दिएका छन्।
काठमाडौंका १० निर्वाचन क्षेत्रमा देउवा र प्रधान पक्षले १/१ स्थानमा जितेको छ। आठ क्षेत्रमा नेता प्रकाशमान र गगनको गठबन्धनले जितेको छ।
शुक्रबार मतदान हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।