काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायाधीशको बैठक सुरु भएको छ। फुलकोर्ट (पूर्ण बैठक)का लागि उनीहरुले आन्तरिक छलफल सुरु गरेको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए।
‘हामी सर्वोच्च अदालतमा उपस्थित सबै न्यायाधीश सामूहिक छलफलमा छौं’, ती न्यायाधीशले भने ‘फुलकोर्टबाट जारी भएको निर्देशिका र कहिलेबाट गोलाप्रथा लागू गराउने भन्ने विषयमा छलफल गर्दैछौं।’
न्यायाधीशहरूका बीचमा छलफलपछि कहिलेदेखि लागू गर्ने निर्णय हुने सम्भावना रहेको पनि ती न्यायाधीशले बताए। राजपत्रमा प्रकाशित भएको निर्देशिकामा गोलाप्रथाबाट पेसी तोक्ने र अन्य कार्यका लागि बनाइएको निर्देशिकाको अध्यक्षमा प्रधानन्यायाधीश हुने भनिएकाले यसमा के गर्ने भन्ने बारेमा पनि छलफल हुने ती न्यायाधीशले बताए।
पेसी व्यवस्थापन निर्देशक समितिमा प्रधानन्यायाधीश र दुई जना वरिष्ठ न्यायाधीश हुने सर्वोच्च अदालत नियमावलीमा उल्लेख छ। उनीहरुले आफूहरु प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने भनेकाले यसमा संशोधन गर्ने कि कायमै राखेर जाने भन्ने विषयमा पनि छलफल गर्ने अजेण्डा रहेको बताएका छन्।
आज हुने छलफलमा सहमति भएमा आफूहरूले हस्ताक्षर गरेर प्रधानन्यायाधीशलाई पठाउने तथा लागू हुने प्रक्रियामा लैजाने ती न्यायाधीशले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।