काठमाडौं- नागरिक अधिकारकर्मी तथा पेशाकर्मीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल महाअभियोग लगाउन दलहरुलाई आग्रह गरेका छन्।
पापड अन्तर्गत रहेका संस्थाहरु र बृहत नागरिक आन्दोलनले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल संसद् बोलाएर प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत् सम्पत्ति छानबिन गराउन भनेका छन्।
‘हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ प्रधानन्यायाधीशमाथि महाअभियोग र सम्पत्ति छानबिन गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ तथा आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले यस्तो माग गरेको हो।
अहिलेको संघर्ष व्यक्ति जबरासहित प्रवृत्तिविरुद्ध भएको उनीहरुले प्रष्ट पारेका छन्।
‘यस्ता व्यक्ति जन्माउने प्रक्रिया र संरचना फेर्न हामी सबै सडकमा उभिएका छौँ ’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘न्याय किनबेच निषेध हुने गरी सबै तहका न्यायालयमा न्यायिक स्वच्छता कायम गर्ने, न्यायमा सर्वसाधारण जनताको सहज, सुलभ र सरल पहुँच सुनिश्चित गर्ने तथा न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौं।’
तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन संयुक्त रुपमा मंसिर ९ गते बालुवाटार न्याय मार्च गर्ने घोषणा पनि उनीहरुले गरेका छन्।
उनीहरुले यो मार्चामा सहभागी हुन सामाजिक न्यायसहितको जवाफदेही लोकतन्त्र पक्षधर सबै पेसागत संघसंस्था तथा सामाजिक र नागरिक शक्तिलाई आह्वान गरेका छन्। सर्वोच्च अदालतको गेटबाट प्रधानमन्त्रीनिवास बालुवाटारसम्म दबाब आन्दोलन गर्ने उनीहरुको साझा घोषणा छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।