तमिल भाषामा बनेको फिल्म ‘जय भीम’ लाई फिल्मसँग जोडिएका तथ्यांक बताउने वेबसाइट ‘आईएमडीबी’ मा सबैभन्दा धेरै ‘र्याङ्किङ’ मिलेको छ। यो फिल्मलाई दर्शकले ‘द शशांक रिडेम्पसन’ र ‘द गडफादर’ जस्ता क्लासिक फिल्मलाई भन्दा बढी मन पराएका छन्।
भारतका फिल्म पत्रकार असिम छाबडाले यसलाई गम्भीर भारतीय फिल्मको सूचीमा नयाँ श्रृङ्खलाको रुपमा अर्थ्याएका छन्। उनी यो फिल्म हिन्दू धर्मभित्रको कडा जात व्यवस्थामा सबैभन्दा निम्न स्थानमा रहेका दलितहरुविरुद्ध हुने दमनको कहानी भएको बताउँछन्।
‘जय भीम’को सुरुवातमा केही प्रहरी अधिकारीले आरोपीहरूलाई जातको आधारमा छुट्याइरहेको देखाइन्छ। उक्त दृश्यमा उच्च जातिका आरोपीहरूलाई रिहा गरिन्छ र दलित र आदिवासीहरुलाई राखिन्छ। प्रहरीले पछि कमजोर पृष्ठभूमिका मानिसहरुमाथि झूटो आरोप लगाउँछ।
यो दृश्य डरलाग्दो र चिन्ताजनक छ। एउटा कुनामा बसेका डराएका मानिसहरुलाई आफूले भोग्नुपर्ने परिणामबारे ज्ञात हुन्छ। यो दृश्यले हामीलाई यस्ता घटना सदैब हुने याद गराउँछ। देशको सानो शहर र गाउँमा रहेका सिमान्तकृत मानिसहरूमा, खासगरी दलितहरूको जीवन निकै अनिश्चित भएको यो दृश्यले बताउँछ।
जय भीम : दलित आन्दोलनको एक कडी
भारतको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस दलित छन्। कानुन हुँदाहुँदै पनि उनीहरू निरन्तर भेदभाव र हिंसा भोग्न बाध्य छन्।
यो फिल्मको नाम ‘जय भीम’को अर्थ ‘भीम अमर छन्’ भन्ने हुन्छ। यो लोकप्रिय नारा दलित विद्वान र नेता भीम राव अम्बेडकरलाई मान्ने मानिसहरुले दिएका हुन्। अम्बेडकर भारतको संविधानका मुख्य वास्तुकार र देशको पहिलो कानुन मन्त्री हुन्।
यो फिल्मको निर्देशन टीजे ज्ञानवेलले गरेका हुन्। उनलाई तमिल फिल्मका स्टार सूर्याले सहयोग गरेका छन्। फिल्ममा गलत कुराहरूविरुद्ध लड्ने वकिलको वास्तविक कहानी देखाइएको छ।
वकिलको भूमिका सूर्याले निभाएका छन्। एक गर्भवती महिला, जसको श्रीमान् पहिले प्रहरीको हिरासतमा थिए, तर पछि बेपत्ता भएको बताइन्छ। तिनै महिलाको पक्षबाट सूर्याले बहस पैरवी गरेका छन्।
‘जय भीम’ तमिल सिनेमामा एउटा नयाँ आन्दोलनको हिस्सा हो। कैयौं युवा फिल्म निर्माता दलितविरुद्ध भएका दमनका कहानीहरूलाई रिलको माध्यमबाट प्रस्तुत गरिरहेका छन्। फिल्म इतिहासकार एस थियोडोर भास्करन भन्छन्, ‘१९९१ मा अम्बेडकरको जन्मदिन मनाएपछि तमिलनाडुमा दलित आन्दोलन निरन्तर भइरहेको छ।’
भास्करन थप भन्छन्, ‘२०औं शताब्दीका भुलिएका दलित विचारकहरुलाई विगतबाट लिएर आइएको छ। सामाजिक कार्यकर्ता तथा नेता पेरियार र अम्बेडकरका विचार कैयौं लेखकहरूले लेखनको माध्यमबाट फैलाइरहेका छन्। पछिल्लो दशकमा कतिपय लेखकहरूले सिनेमा क्षेत्रमा आफ्नो कदम राखेका छन् र कैयौँ फिल्म बनाएका छन्। तर, उनीहरुले प्रचलित विषय, गीत, कुटपिट र मेलोड्रामाकै प्रयोग गरेका छन्।’
अन्य भाषाका फिल्ममा आएको परिवर्तन
दलितका दुःखहरुलाई अहिले भारतका अन्य भाषाहरूमा स्वतन्त्र रुपमा र हिन्दी फिल्ममै पनि ठाउँ दिइएको छ। ‘अन्हे गोरहे दा दान (पंजाबी)’ जस्ता फिल्ममा पनि स्थान दिइएको छ, जसमा दलित सिखहरुको जीवनबारे देखाइएको छ।
‘मसान’ (हिन्दी)मा आर्यघाटमा लास जलाउने परिवारको एक युवक र कथित उच्च जातकी एक युवतीबीचको रोमान्सलाई देखाइएको छ। ‘फैंड्री’ र ‘सैराट’ (दुवै मराठी) पनि यस्तै फिल्म हुन्। ती फिल्मको निर्देशन दलित जातिका नागराज मञ्जुले गरेका हुन्।
फैंड्री एक युवकको कथा हो, जसको परिवार गाउँमा बँदेल पक्रिने गर्छ। ऊ उच्च जातकी एक युवतीप्रति एकतर्फी प्रेम गर्छ। सैराट अन्तरजातीय प्रेमबारेको रोमान्टिक फिल्म हो, जुन बक्स अफिसमा निकै सफल भएको थियो। यो सूचीमा तमिलमा बनेका ‘पेबल्स’ (कुझंगल) पनि छ। यो २०२२ मा ओस्कर अवार्डका लागि सर्वश्रेष्ठ अन्तराष्ट्रिय फिल्मको सूचीका लागि भारतको तर्फबाट पठाइएको आधिकारिक फिल्म थियो।
दलित फिल्मकर्मीको अवस्था
अहिले मूलधारका तमिल फिल्महरुमा यस्ता कैयौं फिल्मकर्मी छन्, जसले नायकमा दलितलाई लिएका छन्। उनीहरू पहिलेबाट चलिआएको भेदभावविरुद्ध आफ्नो अधिकारको लागि लडिरहेका छन्। जब कुनै पनि कानुनी बाटोले उनीहरुको पीडाको निराकरण गर्न सक्दैन, तब शारीरिक रूपमै लड्न पनि तयार हुन्छन्।
पुराना फिल्म निर्माता वेट्रिमारन पनि यस्तै निर्देशकमा पर्छन्। उनले छिमेकी राज्य आन्ध्र प्रदेशमा तमिल आप्रवासीहरूको पीडामा आधारित रहेर सन् २०१५ मा ‘विसारनई’ फिल्म बनाएका थिए। उनले दलितहरूको नरसंहारमाथि ‘असुरन’ बनाए। निर्देशक मारी सेल्वराज र पा रञ्जितले पनि यस्ता कहानीमा फिल्म बनाएका छन्, जसको मुख्य पात्र दलित छन्।
दलित फिल्मकर्मी रञ्जन, जसलाई प्रायः तमिल फिल्म क्षेत्रको ‘स्पाइक ली’ भनिन्छ, ले न्युज वेबसाइट ‘द वायर’सँग सन् २०२० मा दिएको एक अन्तर्वार्तामा पहिलेका तमिल फिल्मको बारेमा भनेका थिए, ‘दलित पात्रहरूलाई जसरी देखाइन्थ्यो, त्यो निकै दर्दनाक थियो। कि त उनीहरुको चर्चा नै हुँदैन थियो, कि त कहानीमा उनीहरू सामेल हुनुलाई मात्र पनि क्रान्तिकारी मानिन्थ्यो।’
रञ्जितले थप भनेका थिए, ‘यो विषयमा मलाई मेरो कहानीले के गर्न सक्छन् भन्ने सोच्नु थियो। म मेरो संस्कृति नै भेदभाव र हिंसामाथि आधारित रहेको छ भन्ने देखाउन चाहन्थें। आज दलित पात्रहरूलाई लेख्दा निर्देशक बढी जागरुक भएका छन्।’
रजनीकान्तको प्रभाव
रञ्जितले निर्देशक मारी सेल्वराजको पहिलो फिल्म ‘पेरियारम पेरुमल’ निर्माण गरेका थिए। यो फिल्म ‘जाती र धर्म मानवताको विरुद्धमा छ’ लेखिएको कार्ड देखाएर सुरु हुन्छ। फिल्मको नायक अम्बेडकर जस्तै वकिल बन्न चाहन्छन्।
फिल्ममा एउटा दृश्य छ, जसमा सन् १९८३ मा फिल्मी गीत ‘पोरादादा’ मा केही पुरुष नाचिरहेका हुन्छन्। उक्त गीतको संगीत महान् संगीतकार इलैयाराजाले दिएका थिए। उनी दलित हुन्। गीतको बोल छ, ‘हामी तपाईंको सिंहासन सम्हाल्ने छौं/ जीतको लागि हाम्रो पुकार सुनिनेछ/ हाम्रो प्रकाशले यो दुनियाँलाई उज्यालो बनाउनेछ/ हामी सर्वहारा हौं, त्यसैले लड्नेछौं।’
यो गीत सेल्वराजका फिल्म कर्णन (२०२१) को पृष्ठभूमिमा पनि बज्छ। अहिले यसलाई ‘दलित गीत’को रुपमा चिन्ने गरिएको छ।
रञ्जितका फिल्महरूलाई हिट बनाउन तमिल सिनेमाका सुपरस्टार रजनीकान्तको ठूलो योगदान छ। रजनीकान्त यी फिल्महरूको कहानीबाट प्रभावित भएरै मुख्य भूमिकामा अभिनय गर्न राजी भएका थिए। उनले ‘कबाली’ (यो फिल्म मलेसियाको एक तमिल प्रवासी ग्याङ्स्टरको कहानीमा आधारित छ) र ‘काला’ (यो फिल्म एसियाको सबैभन्दा ठूलो सुकुम्बासीको कहानी हो, जहाँ सबैभन्दा धेरै संख्यामा तमिल प्रवासीहरु बस्छन्) जस्ता फिल्ममा काम गरेका छन्।
नयाँ फिल्म ‘सरपट्टा परन्बराई’मा रञ्जितले चेन्नईमा दलितहरूबीच हुने मुक्काबाजीको संस्कृतिलाई खोजेका छन्, जो मोहम्मद अलीबाट निकै प्रभावित भएका थिए। उनी अलीको खेलबाट मात्रै नभएर भियतनाम युद्धदेखि अमेरिकामा नश्लभेदविरुद्ध गरिएको संघर्षबाट प्रभावित थिए।
के खासमा केही फेरिएन?
कैयौं मानिसहरु तमिल फिल्मका सबै दलित पात्रहरू तारिफयोग्य नभएको मान्छन्। सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘मादाथीः एन अनफेयरी टेल’की निर्देशक लीना मणिमेकलई नयाँ फिल्मले कुनै खास परिवर्तन नल्याएको बताउँछिन्।
उनी नयाँ फिल्मका नायक, उनीहरुको विशेषता र कहानीको मूल सबै पहिलेकै जस्तो भएको बताउँछिन्। महिला पात्रहरुको भूमिका पनि पहिलेकै जस्तो रहेको उनको भनाइ छ।
तर, दर्शकले नयाँ फिल्म हेरिरहेका छन् भन्ने प्रस्ट छ। ‘जय भीम’ सिनेमा घरहरुमा प्रदर्शनमा आएको छैन, त्यसैले यसको लोकप्रियतालाई प्रमाणित गर्ने बक्स अफिसको तथ्यांक छैन। तर, आईएमडीबीमा ९.६ युजर रेटिङ दिइनुले यसलाई र्याङ्किङको पहिलो नम्बरमा पुर्याएको छ।
बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।