काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी एकीकरण गरेर गल्ती भएको बताएका छन्। पार्टी एकीकरणको समयमा बाहिरै बसेकाहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यो समयमा साझासँग एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन्।
पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सबै सदस्यको स्वीकृतिबिना पार्टी एककिरण गर्नु गलत भएको भन्दै माफीसमेत मागेका छन्। ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो,’ उनले लेखेका छन्, ‘त्यहाँ तपाईंहरू सही साबित हुनुभयो।’
निर्वाचन आयोगले आइतबार अजिता राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र दिएको छ। त्यससँगै प्रतिक्रियादिँदै पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ। तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ।’
विवकेशील र साझा पार्टीबीच एकीकरण हुँदा तत्कालीन उपाध्यक्षसहित १३ जना एकीकरण प्रक्रियामा सहभागी नहुने भन्दै तटस्थ बसेका थिए।
>
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।