काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन्।
विस्तृत शान्ति सम्झौता भएको १५ औं वर्षका अवसरमा सम्झौतामा 'विद्रोही' पक्षका हस्ताक्षरकर्तासमेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा नरहेको उल्लेख गरेका छन्।
'युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ,' प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं। यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो. यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं।'
सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामि अधिवेशनमा टुङ्गोमा पुराउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको प्रचण्डले उल्लेख गरेका छन्।
'शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नं. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको पृष्ठभुमिमा दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरा पनि विश्वस्त पार्न चाहन्छौं। आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिवद्धता पूरा गर्न सवै सम्वद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौँ' विज्ञप्तिमा भनिएको छ।
यो पन्ध्र वर्षको अवधिमा आफूहरुले नेपाली समाजका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रुपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भूमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेको र यसमा गर्व रहेको प्रचण्डले जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।