एजेन्सी- जब पिटी एकर्टको दृष्टि कमजोर हुँदै गयो उनले आफूलाई कलातिर केन्द्रित गरे। उनी ग्राफाइटमा चित्र कोर्थे, काठमा बुट्टा भर्थे अनि श्रीमतीलाई आफ्नो कलाको व्याख्या गर्न लगाउँथे। बिस्तारै उनले आफूलाई फोटोग्राफीतिर केन्द्रित गरे। दृष्टि गुमाएको दुई दशकमा उनले आफूलाई अब्बल फोटोग्राफरको रुपमा स्थापित गरे।
उनका फोटो प्लेब्वाई म्यागजिनमा छापिएका छन्। भोल्सवागनले एकर्टलाई आफ्नो नयाँ कारको विज्ञापनका लागि फोटो खिच्न अनुबन्ध गरेको छ। एकर्ट आफ्नो काम शताब्दीयताकै पृथक भएको बताउँछन्। 'सबै चित्रकारको एउटै दृष्टि हुँदैन, फरक दृष्टिका कारण फरक चित्र कोर्छन्,' उनी भन्छन्, 'म दृष्टिविहीन हुँ, दृष्टिविहीन चित्रकारले उतारेको कला इतिहासमै नयाँ खुड्किलो हो।'
फोटोग्राफी सिक्नका लागि उनी बेलुका जर्मन सेफर्डलाई साथमा लिएर घुम्न जान्थे। उनले मूर्तिको फोटो खिचेर फोटोग्राफी करिअर सुरु गरेका थिए। 'फोटोग्राफी कला हो, कलात्मक मूर्तिको फोटो खिच्नु कुनै कला होइन भन्ने मलाई लाग्छ तर मैले दृष्टिविहीनता के हो भन्ने बुझाउनका लागि मूर्तिबाट फोटो खिच्न सुरु गरेँ,' उनले भने।
एकर्टका अनुसार उनी श्रव्यको सहायताले दिमागमा दृश्यको चित्रण गर्छन् र फोटो खिच्छन्। 'म चमेरोले जस्तै आवाजको सहायतामा सिकार खोज्छु मेरो सिकार भनेको चाहिँ वस्तु हो जसलाई लेन्समा कैद गर्छु,' उनी भन्छन्।
एकर्टले धेरै तस्बिर र आफ्नो निवासमा रहेको स्टुडियोमा लिएका छन्। एकर्ट आँखा देख्दैनन्, दिमागले जे देख्छ त्यही कैद गर्छन्। आफूले कैद गरेका तस्बिरबाट उनी दृष्टिविहीनको पनि दृश्य देख्ने विशेष क्षमता हुन्छ भन्ने सन्देश दिन चाहन्छन्। 'दिमागको एउटा भाग दृष्टिविहीन हुँदा प्रयोग हुँदैन प्रयोग भएमा दिमागले दृश्य चित्रण गर्न मद्दत गर्छ,' एकर्ट भन्छन्। विगत २० वर्षदेखि उनी आँखाको नसा जोडिएको भाग (भिजुअल कर्टेक्सलाई) श्रव्यको सहायतालाई सक्रिय बनाइरहेका छन्, जसका कारण दृश्यको चित्रण गर्न उनलाई सहज भएको छ।
उनी दृष्टिविहीनहरुलाई आफ्नो क्षमता पहिचान गर्न आग्रह गर्छन्। 'हामी क्षमता नभएका मान्छे होइनौँ। हामीसँग फरक क्षमता छ, पहिचान गरेर मेहनत गरे सफलता सम्भव छ,' उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।