फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकासको गतिलाई अवरुद्ध पारेको बताएका छन्। नेकपा (एमाले) काठमाडौं महानगर कमिटीद्वारा आयोजित नेपाल सम्वत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विकास निर्माणमा सरकारको ध्यान नगएको बताएका हुन्।
'विकासको गति अवरुद्ध भएको छ। त्यसलाई अगाडि बढाउनुपर्छ। अब पुनर्निर्माणतिर जानुपर्छ, टेको लगाउने प्रवृत्ति त्याग्नुपर्छ,' उनले भने।
उनले विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरे। एमालेको सरकार नभएको भए मेलम्चीसमेत नआउने उनको भनाइ थियो। सामाजिक सुरक्षालगायत योजना एमाले सरकारमा हुँदा नै अगाडि बढाएको उल्लेख गर्दै उनले अरु दलको नेतृत्वमा यी कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्ने दाबी गरे।
ओलीले जनताबाट निर्वाचित पार्टी फुटाइएको आरोप लगाए। कांग्रेस नेतृत्वको वर्तमान सरकार 'जोडजाम गरेको कठपुतली सरकार' भएको उनले टिप्पणी गरे।
'नेकपा फुटाउने काम भयो। संसद बहिष्कार गरेर आफैं सरकार ढाल्ने काम भयो। पार्टीको सरकार हुनु हुँदैन भनेर कांग्रेसको सरकार जोडजाम गरेको कठपुतली सरकार बनाइयो,' ओलीले भने, 'प्रधानमन्त्री संसद्बाट बनाउने र हटाउने हो तर बनाउनुपर्ने संसदले थाहा पाएन, अन्तबाट नै सरकार बनाइयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।