काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेट भएको छ। शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा दुई नेताबीच भेट भएको हो।
खुमलटार स्रोतबाट प्राप्त जानकारीअनुसार, भेटमा दुई नेताको साथमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा पनि सहभागी थिए। महरा पछिल्लो समय विप्लवसँग नियमित छलफलमा छन्। उनले पार्टी एकताको प्रयास पनि गरिरहेका छन्।
प्रचण्ड-विप्लव भेटमा दुई पार्टीबीचको सहकार्य, पार्टी एकता तथा समसामयिक राजनीतिक विषयहरुमा छलफल भएको बताइएको छ। दुई नेताबीच एमसीसीको विषयमा पनि छलफल भएको थियो।
माओवादी नेतृत्वमा भएको 'जनयुद्ध'मा दुई नेताबीच निकट सम्बन्ध थियो। तर, शान्ति प्रक्रियामा आएसँग प्रचण्डसँग टाढिएका विप्लव २०६९ सालमा तत्कालीन एनेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लागेका थिए। उनले २०७१ मंसिरमा किरण नेतृत्वको नेकपा-माओवादी पनि विभाजन गरी नेकपा गठन गरेका थिए। हिंसात्मक गतिविधिमा संलग्न भएपछि २०७५ फागुनमा सरकारले प्रतिबन्ध लगाएको थियो। दुई वर्षपछि २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेपछि प्रतिबन्ध हटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।