फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न १४औं महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन अर्का नेता शेखर कोइरालासँग आग्रह गरेका छन्।
शुक्रबार चाक्सीबारीमा आफूलाई भेट्न आएका नेता कोइरालालाई नेता सिंहले उक्त आग्रह गरेका हुन्। आगामी महाधिवेशनमा सिंह र कोइराला दुवै सभापतिका आकांक्षी हुन्।
'मैले उहाँलाई पहिले पनि भनिसकेको हो। हामीले उम्मेदवारी दिएको अलि नेचुरल पनि देखिनुपर्छ भनें। तपाईंले अनुभव पनि लिनुपर्छ, अहिले मिलेर लडौं, तपाईं कुनै राम्रो पोर्टफोलियोमा बस्नुस्, पार्टीको संगठनलाई राम्रो बनाऔं भनेको छु,' नेता सिंहले नेपाल लाइभलाई भने।
अहिले पार्टी कमजोर अवस्थामा पुगेकोले मिलेरै लड्न आफूले प्रस्ताव गरेको उनले बताए। भेटवार्ता सकारात्मक भएको उल्लेख गर्दै नेता सिंहले कोइरालासँग फेरि भेट्ने कुरा भएको जानकारी दिए।
सभापतिमा उम्मेदवार एक हुने सम्भावना छ त? भन्ने प्रश्नमा उनले भने, 'राजनीति हो जे पनि हुनसक्छ। उम्मेदवारी फाइल नहुँदासम्म के भन्न सकिन्छ र? २४ घण्टा पनि लामो समय हुन्छ।'
यता, कोइरालापक्षले पनि भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएको छ। समझदारी गरेरै अघि बढ्ने कुरा भएको उक्त पक्षको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।