काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलाई एमसीसीबारे सरकारले आफूहरुसँग परामर्श नगरेका कारण पार्टीले कुनै ठोस धारणा नबनाएको बताएका छन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार अध्यक्ष ओलीसँगको शिष्टाचार भेटका लागि पुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी पास गर्नेबारे चासो राखेपछि ओलीले यस्तो जवाफ दिएका थिए।
भेटमा सहभागी एमाले नेता राजन भट्टराईले शिष्टाचार भेटका लागि अमेरिकी टोली आएको र छलफल भएको जानकारी दिए।
‘शिष्टाचार भेटका लागि आउनु भएको थियो। शिष्टाचार भेट भयो,’ भट्टराईले भने, ‘नेपाल अमेरिकी सम्बन्धका बारेमा छलफल भयो। मुलतः अमेरिकाले नेपाललाई गरेको सहयोगका लागि अध्यक्षज्यूले धन्यवाद दिनुभयो।’
भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले एमसीसीका बारेमा एमाले अध्यक्ष ओलीको धारणा मागेका थिए।
‘उहाँहरुले एमसीसी के हुन्छ भन्ने जिज्ञासा राख्नुभएको थियो,’ ओलीको भनाइ उदृत गर्दै नेता भट्टराईले भने, ‘एमसीसीको बारेमा निर्णय गर्न हामी सरकारमा छैनौं। सरकारमा हुनेहरुको धारणा के हो, अहिलेसम्म हामीसँग कसैले कुराकानी गरेका छैनन्।’
ओलीले आफ्नो पार्टीसँग कुराकानी गर्ने आवश्यकता पनि नभएकाले कुराकानी नगरेको हुन सक्ने जवाफ दिएका थिए। ‘उहाँहरु आफैं बहुमतमा हुनुहुन्छ। उहाँहरुले चाहँदा पारित भइहाल्छ। त्यसो हुनाले यसमा हामीले धारणा बनाएका पनि छैनौं बनाउनुपर्ने आवश्यकता पनि रहेन अहिलेलाई,’ जवाफमा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीलाई भने।
अमेरिकाले नेपालमा थप केही नयाँ क्षेत्रमा सहयोग गर्ने सोचे बनाएको उनले बताएका थिए। त्यसका लागि ओलीले नेपालको आवश्यकताबारे सरकारसँग समन्वय गरेर जाँदा त्यसको स्वागत गर्ने धारणासमेत राखेका थिए। सहायक विदेशमन्त्री लूले अमेरिकाले खासगरी जलवायु परिवर्तनसँग जुध्न नेपालसँग धेरै सम्भावना रहेको भन्दै त्यसमा सहयोग गर्ने योजना सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।