काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जित्नेतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्।
आगामी वर्ष हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बहुमतसहितको पहिलो पार्टी बन्नेगरि लाग्नुपर्ने उनले बताए।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको क्रममा शुक्रबार काठमाडौं क्षेत्र नम्बर ५ को प्रदेश 'क' र 'ख'का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सहमहामन्त्री महतले कांग्रेसको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गरे। १४औं महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गरेका प्रतिनिधिहरुलाई उनले आन्तरिक प्रतिस्पर्धालाई सहज रुपमा लिन पनि आग्रह गरे।
'निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत रहनु पर्दछ। अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ। यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस्', उनले भने।
उनले १४औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य, भातृसंगठनका सदस्य, शुभेच्छुक, समर्थक र मतदाताहरुमा देखिएको उत्साहलाई पार्टीको ऊर्जाको रुपमा लिएको बताउँदै यसले आफूलाई ठूलो प्रेरणा दिएको पनि बताए।
नेपाली कांग्रेसको १४ महाधिवेशनको क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ।
मंसिर ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ।
केही हिमाली जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।