काठमाडौं- नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा लुले देउवालाई भेटेका हुन्। उक्त भेटबारे देउवाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
उनका अनुसार भेटको क्रममा दुई देशबीचको पारस्पारिक सम्बन्ध, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन तीन दिने भ्रमणका लागि बुधबार बेलुका लु नेपाल आइपुगेका हुन्।
उनले भोलि शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ।
काठमाडौं बसाइँका क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ।
साथै, नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन पनि गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।