काठमाडौं– नेकपा एमाले नेता एवम् १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा (बादल)ले प्रतिस्पर्धाका लागि ढोका बन्द नहुने बताएका छन्।
एमालेको आधिकारिक फेसबुक पेजमार्फत् महाधिवेशनलाई केन्द्रित गरेर सुरु गरिएको कार्यक्रममा बोल्दै बादलले यस्तो बताएका हुन्।
‘बन्द शत्रमा राजनीतिक छलफल हुँदैन, बन्द शत्रको उद्घाटनमा पार्टीको अध्यक्षले सम्बोधन गर्नुहुन्छ। त्यसपछि मनोनयनको प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘१२ गते बिहानैदेखि मतदानको प्रक्रिया सुरु हुन्छ।१०० मेसिनको व्यवस्था गर्ने योजना रहेको छ।’
केन्द्रीय कमिटीबाट मनोनित हुने ५ प्रतिशत प्रतिनिधिको छनोट सकिएपछि नेतृत्वको बारेमा छलफल हुने उनले बताए।
स्थानीय तहका कमिटीको निर्माण गर्दा जुन विधि अपनाइएको छ, त्यही नीतिलाई केन्द्रीय समितिमा पनि लागू गर्ने भन्ने पार्टीको निर्णय भएको भन्दै थापाले पहिलो प्रयास सर्वसम्मत रुपमै नेतृत्व चयनका लागि हुने बताए।
‘अहिलेको विशिष्ट परिस्थितिमा सहमतिमा नै जानुपर्छ भन्ने छ। प्रतिस्पर्धाको ढोका हामीले बन्द गरेका छैनौं। दुवै विधिका निम्ति तयारी भइरहेको छ,’ उनले भने।
अहिलेको एमाले एकताको निरन्तरता नै भएकाले अबको केन्द्रीय कमिटी पनि त्यसै अनुसार निर्माण हुने उनको भनाइ छ।
‘सैद्धान्तिक र राजनीतिक रुपमा छलफल चलिरहेको छ, तर ठोस रुपमा यसमा छलफल सुरु भएको छैन,’ उनले भने।
उनले महाधिवेशनलाई सफल बनाउन १२ वटा समिति निर्माण गरिएको भन्दै ५ लाख भन्दा बढी सर्वसाधारण उद्घाटन समारोहमा सहभागी हुने बताए।
महाधिवेशनमा जनपरिचालन गर्नुको पछाडि चुनावको तयारी पनि भएको उनको भनाइ छ।
चितवनमा हरेक घरधुरीबाट जनताको सहभागिता हुने भन्दै उनले महाधिवेशनमा १ लाख जनसमुदाय जिल्ला (चितवन)बाटै सहभागी हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।