काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि (शुक्रबार) ३ बजेसम्म राजीनामा दिन 'अल्टिमेटम' दिएका छन्। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने पनि श्रेष्ठले चेतावनी दिएका छन्।
आज (बिहीबार) कानुन व्यवसायीको धर्नामा भएको प्रहरी हस्तक्षेपको निन्दा गर्दै बार अध्यक्ष श्रेष्ठले अहिले जारी आन्दोलन कुनै पनि वहानामा नरोकिने समेत बताएका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग्दै अदालत प्रवेशमा अवरोध गर्न र प्रहरी लगाएर दमन गर्ने कार्यको विरोध गर्दै शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए।
सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीहरु बिहीबार सर्वोच्चको वैकल्पिक गेटतर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष श्रेष्ठसहित नेपाल बार र सर्वोच्च बारका केही पदाधिकारीसहित आधा दर्जन कानुन व्यवसायी घाइते भएका थिए।
प्रहरीको दमनपछि बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै बारले आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु ३ सातादेखि आन्दोलनमा छन्।
राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरुले भने सर्वोच्च अदालतमा गोलाप्रथामार्फत् पेसी तोक्ने गरी नियमावली र निर्देशिका पारित गरेका छन्। सर्वोच्चका न्यायाधीशहरु आफैंले गोला तानेर मुद्दा हेर्नेगरी इजलासमा फर्किने तयारी गरिरहेका बेला बारले भने आन्दोलनलाई थप सशक्त बनाउने बताएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।