काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। बिहीबार दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको भनिएपनि बैठक १ बजेका लागि सारिएको थियो। बैठकमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश सहभागी भएको सर्वोच्चका मुख्य रजिस्ट्रार लालबाबु कुँवरले बताए।
यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुले फुलकोर्ट बोलाउने सहमति गरेका थिए।
हिजो बसेको न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बोलाउने निर्णय गरेको थियो। नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरेका थिए।
सामूहिक छलफलमा रहेका ती न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो। जसमा इजलास तोक्न गोलाप्रथा लागू गर्नेलगायतका विषय रहेका छन्।
उक्त सहमतिसँगै १४ न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका थिए। उनीहरुले मुख्य रजिष्ट्रारलाई निर्देशन दिएपछि प्रधानन्यायाधीश राणाले फुलकोर्ट आह्वान गरेका हुन्।
न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधनसम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताउँदै आएका छन्।
उनीहरुले गोलाबाट पेसी तोकेर इजलास सुरु गरे पनि प्रधानन्यायाधीश जबरासँग भने इजलास सेयर नगर्ने सहमति गरेका छन्। आजको न्यायाधीशहरुको बैठकमा नियमित इजलासमा गएका न्यायाधीशहरु सहभागी थिएनन्। कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका न्यायाधीशहरु अब गोलाबाट पेसी तोकिएपछि इजलासमा फर्कने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।