काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन्।
आचार्यले उपसभापतिमा उम्मेदवारी दिने निधोमा पुगेको जानकारी आफूनिकट नेता र कार्यकर्तालाई गराएका हुन्। ‘मैले कांग्रेसको नेतृत्व दाबी गर्ने बेला भइसकेको हो, तर सभापतिका लागि तयारी गर्न अब समय नहुने भएकाले यसपालि उपसभापतिमा उम्मेदवार बन्ने निधो गरेँ भन्नुभएको छ’, कांग्रेसका एक नेताले नेपाल लाइभसँग भने।
कांग्रेसभित्र निष्ठाको राजनीति गर्ने वैचारिक नेताका रुपमा परिचित आचार्य निरन्तर केन्द्रीय समितिमा रहँदै आए पनि यसअघि महत्वपूर्ण पदहरुमा दाबी गरेका थिएनन्। उनले कांग्रेसको नीति विभाग प्रमुख उपसभापति नै हुने भएकाले पार्टीलाई सही रुपमा अगाडि बढाउन आफूले उपसभापतिमा दाबी गरेको बताएका छन्।
नेपाल लाइभसँगको कुराकानीमा आचार्यले आफू उम्मेदवार बन्ने तयारीमा लागेको बताए। ‘अब उम्मेदवार बन्नुपर्छ भनेर मैले साथीहरुसँग छलफल अघि बढाएको छु। चाँडै यसबारे ठोस निर्णय सार्वजनिक गर्नेछु’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।