काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ।
मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमिति बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो।
आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरका १८ वटा उच्च अदालतमासमेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएको छ। मङ्सिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय बारले गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बारका महासचिव लिलामणि पौडेलले मङ्सिर ३ गते संसद्मा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापनपत्र बुझाउने जानकारी दिए।
यस्तै नेपाल बारले प्रधानन्यायाधीशविना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। प्रधानन्यायाधीश जबराले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णयसमेत गरेको जानकारी दिइएको छ।
बारले आन्दोलनमा कालोकोट लगाएका राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ। साथै, सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्धसैनिक बल प्रवेश गराइ विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ।
नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश जबरा उपस्थित हुने सबै कार्यक्रम बहिष्कार गर्ने, न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन अनुरोध गर्नेलगायत निर्णय गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।