काठमाडौं– सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुले गोलाप्रथा (अटोमेशन) प्रणालीबाट पेसी तोक्न सुरु गरिए मुद्दाको सुनुवाइमा जाने अवस्था आउने बताएका छन्। बुधबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुसँगको छलफलमा सर्वोच्चका आन्दोलनरत न्यायाधीशहरुले अटोमेशन लागू भएमा आन्दोलनसँगै सुनुवाइमा पनि जानुपर्ने अवस्था आउनसक्ने बताएका हुन्।
मंगलबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग कुराकानी गर्ने क्रममा सर्वोच्चका १३ जना न्यायाधीशहरुले आन्दोलनसँगै मुद्दाको सुनुवाइलाई पनि अगाडि बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने बताएका हुन्।
'प्रधानन्यायाधीशको राजीनामाको माग त छँदै छ। सँगसँगै अटोमेशन (गोलाप्रथा प्रणाली) लागू भयो भने मुद्दाको सुनुवाइमा पनि जानुपर्ने हुनसक्छ,' बारका पदाधिकारीसँग न्यायाधीशहरुले गरेको ब्रिफिङबारे जानकारी दिँदै मंगलबारको बैठकमा सहभागी सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले भने।
तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको अजेण्डाबाट भने पछि नहट्ने आन्दोलनरत न्यायाधीशहरुको भनाइ छ। यस्तै, राणा सँगको संयुक्त इजलासमा पनि नबस्ने उनीहरुको भनाइ छ।
प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू गर्ने सम्बन्धमा अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाएमा सहभागी हुने न्यायाधीशहरुको भनाइ छ।
छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाकै कारण अहिलेको अवस्था सिर्जना भएको 'समान' धारणा राखेका थिए। तर, न्याय पाउने सेवाग्राहीको हकको संरक्षण गर्न पनि अहिलेको अवस्थालाई धेरै लम्ब्याउन नहुने उनीहरुको भनाइ थियो।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको बार र सर्वोच्चका न्यायाधीशबीच सोमबारदेखि आपसी छलफल सुरु भएको हो।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै सर्वोच्चका १९ जना न्यायाधीश 'आन्दोलन'मा रहे पनि ५ जना न्यायाधीश भने सोमबार बारसँगको संयुक्त छलफल सहभागी भएका थिएनन्।
सोमबार बारसँगको छलफल 'बहिस्कार' गरेका ५ जना मध्ये ४ जना न्यायाधीशले मंगलबार इजलासमा नियमित पेसी हेरेका थिए।
मंगलबार बारसँगको बैठकमा १३ जना न्यायाधीशहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।