काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध मंगलबार नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।

सार्वजनिक यातायातका साधानहरु कम मात्रै चलेपनि निजी यातायातका साधनहरु भने निर्वाध रुपमा चलेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार पनि अरु दिनजस्तै सडकमा सवारी साधनको चाप छ।

बन्दको प्रभाव कम देखिएपछि भने विप्लव नेकपाका कार्यकर्ताहरु दिउँसो केही उग्र देखिएका छन्। उनीहरुले सडकमा टायर बाल्नेदेखि यातायातका साधनहरु रोक्ने गतिविधि गरिरहेका छन्।

मंगलबार काठमाडौंको भद्रकालीस्थित सडकमा टायर बाल्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सडकमा निस्किएर टायर बाल्न खोज्ने करिब ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।