काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए। उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे।
कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन पनि उनले आग्रह गरिन्।
‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ’, उनले भनिन्, ‘यस सम्बन्धमा मैले अस्तिमात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भएपनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत आउनुस्। अथवा, व्यक्तिगत आउनुहुन्छ भनेपनि हामी अनुमति दिन तयार छौँ।’
मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताइन्। विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।