काठमाडौं- नेपाल बार एसोसिएसन र सर्वोच्च बारको पदाधिकारी बैठक बस्ने भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन र सर्वोच्च बारले तेस्रो चरणको आन्दोलनको घोषणाका लागि पदाधिकारी बैठक बोलाएको हो।
आन्दोलन जारी रहेपनि प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै बारले आन्दोलनलाई थप चर्काउने तयारी गरेको छ। यसैगरि सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आन्दोलनलाई थप सशक्त पार्नेबारेमा बैठकमा छलफल हुने बताए।
प्रधानन्यायाधीश राणाले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायतका बार इकाइहरू न्यायापालिकाको अभिन्न अंग भन्दै राणाले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान गरेका थिए।
राणाले आफैं पत्रकारसँग संवाद नगरी सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत् यसको जानकारी गराएका थिए। कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलन तीन हप्ता पुगेपछि मात्र राणाले वार्ताको लागि बारलाई आह्वान गरेका छन्। बारले आइतबार मात्र आन्दोलरत न्यायाधीशहरुलाई पत्र नै लेखेर राणाले तोकेको इजलासमा नबस्न आग्रह गरेको थियो। त्यसको भोलिपल्ट राणाले बारले धर्ना दिइरहँदा यस्तो विज्ञप्ति जारी गरेका थिए।
तर, बारले भने राणाको प्रस्ताव अस्वीकार गरिसकेको छ। नेपाल बार र सर्वोच्च बारका दुवै अध्यक्षले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो शर्त राणाको राजीनामा नै भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।