काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई नेपाल) ले न्यायपालिकाको गरिमा कायम राख्न माग गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै भइरहेको आन्दोलनका कारण न्याय सम्पादनमा गम्भीर असर परेको र न्यायपालिकाको आस्थामाथि नै प्रश्नचिह्न खडा भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ।
संस्थाकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशले कार्यपालिकाको नियुक्तिमा भागबन्डा लिएको, न्यायाधीशहरूले विरोधस्वरुप बेञ्च बहिष्कार गरेको, नेपाल बारबाट प्रधानन्यायाधीशको राजीनामा माग भएको अबरले ध्यानाकर्षण भएको उल्लेख छ।
‘यस्ता विषयहरूउपर आवश्यक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही हुनुपर्दछ भन्ने धारणा यस संस्थाको रहेको छ । यस कार्यलाई सहज बनाउन सर्वप्रथम न्याय सम्पादन सम्बन्धित व्यक्तिहरूको सम्पत्ति जाँच गरिनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ।
अन्यायमा परी न्यायको ढोका ढकढक्याउन अदालत पुग्ने आमपीडित नागरिकलाई प्रदान गरिने सेवाप्रवाह कुनै पनि बहानामा अवरुद्ध हुन नदिन नहुने टीआईको माग छ।
‘सर्वोच्च अदालतमा देखिएको विवाद यथाशीघ्र समाधान गर्नेतर्फ प्रधानन्यायाधीश तथा सम्पूर्ण सम्बन्धित पक्ष अग्रसर भई यसको निकास निकाली शीघ्रातिशीघ्र न्यायपालिकालाई स्वच्छ र पारदर्शीरुपमा गतिशील बनाई न्यायपालिकाको गरिमा कायम राख्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।