काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले मंगलबार पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नासहितका कार्यक्रम सुरु गरेका छन्।
यसअघि आइतबार र सोमबार पनि नेपाल बारका पदाधिकारीसहितका कानुन व्यवसायीले अदालत गेटमा धर्नाका साथै विरोधका विविध कार्यक्रम गरेका थिए। साढे ९ देखि साढे ११ बजेसम्म सर्वोच्चको मुख्य प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम तय भएको नेपाल बार एसोसिएसनले जनाएको छ।
प्रधानन्यायाधीश राणाला सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरेपछि शुक्रबार, आइतबार र सोमबार प्रधानन्यायाधीश राणा महान्याधिवक्ताको कार्यालयतर्फबाट अदालत प्रवेश गरेका थिए।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन मंगलबार दुवै गेट बन्द गर्ने चेतावनी दिएका थिए।
मन्त्रिपरिषद् सदस्यको भागबण्डालगायत विविध राजनीतिक प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएपछि उनको राजीनाको माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ। त्यसैगरी सर्वोच्चकै न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका थिए। तर, बारले भने राणाको विश्वास नभएको भन्दै राजीनामाको विकल्प नभएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।