काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी यतिबेला मुगुस्थित रारा ताल पुगेका छन्।
जलवायु परिवर्तनबारे विश्वमा बहस चलिरहेको बेला राजदूत बेरी रारा पुगेका हुन्। उनले आफू किन रारा ताल पुगें भन्नेबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। बेरीसहित बेलायत र अष्ट्रेलियाका राजदूत पनि रारा पुगेका छन्।
'जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ। यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो। यो खतराको घण्टी हो' सामाजिक सञ्जालमा उनले भनेका छन्।

रारा ताल नेपालको सवैभन्दा ठूलो र हिमाली क्षेत्रमा अवस्थित ताल रहेको भन्दै उनले लेखेका छन्, 'यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो। जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ।'

तीनदिन यता रारामा रहेका उनले हालै भएको कोप २६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्यास घटाऊने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको स्मरण गराएका छन्।
'विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्यास घटाऊने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ' उनले लेखेका छन्।

सँगै रारा आएका साथी र आफूले यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध रहेको उनले उल्लेख गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।