काठमाडौं- मुलुकमा जारी राष्ट्रिय जनगणना-२०७८ अन्तर्गत गणना कार्यमा भइरहेको त्रुटिप्रति आदिवासी जनजाति संगठनहरूले आपत्ति जनाएका छन्।
नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न संस्थाहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरी गणना कार्यमा भइरहेको त्रुटि सच्याउनुपर्ने माग गरेका छन्। गणकले लापरबाही गरेको स्थानमा पुनः गणना गर्नसमेत माग गरिएको छ
'मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ नेपालमा २०७८ कात्तिक २५ गतेदेखि १२औं राष्ट्रिय जनगणना भइरहेको र गणनाको क्रममा गणकले सम्बन्धित घरमूलीसँग जाति, भाषा र धर्मसम्बन्धी कतिपय प्रश्न नै नसोधी नियतवस हिन्दू धर्म र नेपाली भाषा लेखी तथ्याङ्क संकलन गरिरहेको भन्ने सूचना आएकोले सो सम्बन्धमा नेपालका आदिवासी जनजाति संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ,' संयुक्त विज्ञप्तिमा उल्लेख छ।
जनगणनापछि प्रकाशित प्रतिवेदन नेपालको समग्र वास्तविक स्थिति प्रतिविम्बित गर्ने ऐना भएको र यसकै आधारमा राज्यले विकासका भावी योजना तथा नीति निर्माण गर्ने हुँदा यस्तो प्रतिवेदन सत्य र तथ्यमा आधारित हुनुपर्ने उनीहरुको माग छ। 'आजसम्म भएको गणनाहरूमा नेपालका आदिवासी जनजातिहरूको वास्तविक तथ्याङ्क आउन नसकेको सन्दर्भमा १२औं राष्ट्रिय जनगणनालाई हामीले गम्भीर चासोका साथ हेरिरहेका छौं,' विज्ञप्तिमा उल्लेख छ।
यसैबीच विभिन्न १० वटा जातीय संस्थाका प्रतिनिधिहरुले सोमबार केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठलाई भेटेर यसबारे कुरा राखेको जानकारी दिइएको छ। त्यसक्रममा महानिर्देशक श्रेष्ठले सूचनादाताले जाति, भाषा र धर्मको सम्बन्धमा जे भन्दछ, त्यही अनुसारको तथ्याङ्क गणकले संकलन गर्नुपर्ने बताएको विज्ञप्तिमा उल्लेख छ
'यस खालको कमी कमजोरी, त्रुटि र लापरबाही तत्काल सच्याउन र गणकले लापरबाही गरेको स्थानमा पुनः गणना गर्नसमेत हामी आग्रह गर्दछौं। अन्यथा, नेपालका आदिवासी जनजातिहरूले मिथ्याङ्क प्रतिवेदन स्वीकार गर्न नसक्नेसमेत यसै विज्ञप्तमार्फत् जानकारी गराउँदछौं,' विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।