काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर बजराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरलाई प्रहरी ब्यारेक बनाउने काम भएको जनाएको छ।
बार महासचिव लिलामणी पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीहरुको शान्तिपूर्ण विरोध कार्यक्रममा अदालत प्राङ्गणमा सयौं सशस्त्र प्रहरी राखी अदालतलाई प्रहरी ब्यारेक जस्तो बनाउने काम भएको उल्लेख गरेका छन्।
‘प्रहरीको बलमा अदालत प्रवेश गरी आफूलाई सम्मानित र सम्माननीय छु भन्ने दम्भ प्रदर्शन गरिनु घोर लज्जा र आपत्तिजनक विषय रहेको छ । तसर्थ, यस्तो रवैयाले हाम्रो विरोध कार्यक्रमको उपादेयता थप पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानन्यायाधीशको राजीनामा नआएसम्म भोलिका दिनमा पनि विरोध कार्यक्रमहरू जारी नै रहने बारले जनाएको छ।
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले भोलि नेपाल बन्दको कार्यक्रम राखेको भएपनि कानुन व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचय पत्रसहित बार एसोसिएसन र अदालतमा उपस्थित हुन कुनै अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी आएको उनले बताएका छन्।
बारले मंगलबारका कार्यक्रममा पनि बिनाहिचकिचाहट सक्रियतापूर्वक सहभागी हुन आह्वान पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।