काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै वडा र पालिका सम्मेलन अन्तिम चरणमा पुगेको छ। आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि वडा, पालिका र प्रदेश सम्मेलनको तयारी धमाधम भइरहेको छ।
माओवादीले कात्तिक २७ गते एकैदिन टोल भेला सम्पन्न गरिसकेको छ। सबै टोल भेलामा सर्वसम्मतिले नेतृत्व चयन गरिएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।
‘मंसिर ४ गते वडा सम्मेलन, मंसिर १५ गते पालिका सम्मेलन र मंसिर २५ गते प्रदेश सम्मेलन गर्ने भनिएको छ’, कार्यालय सचिव ढकालले भने, ‘वडा,पालिका र प्रदेश सम्मेलन गर्न निर्वाचन समितिले काम गरिरहेको छ। एकैदिन वडा, पालिका र प्रदेश सम्मेलन सर्वसम्मतिले चयन गरिने छ। वडा, पालिका र प्रदेश सम्मेलनबाट नेतृत्वमा आउने चाहनेबीच सर्वसम्मत नभएमा निर्वाचन हुन सक्छ।’
माओवादी केन्द्रले सकेसम्म नेतृत्वमा सर्वसम्मत गर्न तल्ला कमिटीलाई निर्देशन दिएको छ। ‘हामीले वडा, पालिका र प्रदेश तहमा आउने कमरेडहरुलाई सकेसम्म सर्वसम्मत गर्नुस् भनेका छौं। यसो हुँदा सबैलाई मान्ने हुने नेतृत्वमा आउनु हुनेछ’ उनले भने,‘सर्वसम्मत आउनै सक्ने अवस्था भएन। प्रतिस्पर्धान नै गर्नुपर्ने भएमा मिति नै तोकेर निर्वाचनबाट नेतृत्वमा आउनु हुनेछ।’
पार्टीको वडा,पालिका र प्रदेश सम्मेनल तयारी गर्न माओवादी केन्द्रका नेताहरु जिल्ला, पालिका र गाउँ केन्द्रित भएका छन्। माओवादीका नेताहरु प्राय: उपत्यका बाहिर भएकाले यसअघि केन्द्रीय समिति बैठक समेत जुममार्फत् भर्चूअल्ली भएको थियो।
माओवादी केन्द्रको पार्टी सक्रिय सदस्य साढे ५ लाख पुगेको बताएको छ। पार्टी सदस्य विवरणा सफ्टवेरमा राख्न नसकिएकाहरुको हार्डकपीमार्फत् संकलन गरेर रेकर्ड राखिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।