काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएकी छन्।
राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा सोमबार भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री श्रेष्ठले यसअघिका आयोगहरूले गरेका कामहरूलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा लाग्न आग्रह गरिन्।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न नहुने भन्दै प्रभावकारी रुपमा काम गर्नेगरी योजना र कार्यविधि बनाउन निर्देशन समेत दिइन्।
मन्त्री श्रेष्ठले भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्या फेरि पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्नेगरी काम गर्न समेत आयोगका पदाधिकारीहरूलाई आग्रह गरिन्।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्नेगरी अगाडि बढेको बताए।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डे, नापी विभागका महानिर्देशक प्रकाश जोशी र राष्ट्रिय भूमि आयोगका पदाधीकारीहरूको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।