काठमाडौं– महासचिवमा सीपी (चन्द्रप्रकाश) मैनालीलाई नै निरन्तरता दिँदै नेकपा (माले)को ८औं महाधिवेशन सकिएको छ। शनिबार चितवनको भरतपुरमा सुरु भएको महाधिवेशन आज (सोमबार) सकिएको हो।
मैनाली विगत २० वर्षदेखि मालेको नेतृत्वमा छन्। यसपटक पनि सर्वसम्मत रुपमा मैनाली महासचिव चयन भएको केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहले जानकारी दिए।
शनिबारदेखि सुरु भएको महाधिवेशनमा महासचिव मैनालीको राजनीति प्रतिवेदनका साथै पार्टी विधान, संगठनिक प्रतिवेदन पारित गरिएको शाहले बताए।
मालेले अहिलेको संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने अजेण्डा पारित गरेको छ। ‘वेलायती संसदीय व्यवस्थाको मोडल नेपालमा फेल भइसक्यो। त्यसको विकल्पमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जाने अजेण्डा पारित भयो,’ नेपाल लाईभसंग कुरा गर्दै शाहले भने, ‘पार्टीले आगामी निर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधामन्त्रीको अजण्डा अघि सार्ने छ। त्यस मुद्धामा अन्य पार्टीलाई समाहित गर्ने छौं।’
महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। महाधिवेशनबाट केन्द्रीय कमिटीका सदस्य र महासचिवमा मैनाली मात्रै निर्वाचित भएका छन्।
आगामी पुसमा केन्द्रीय कमिटीको बैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी टुंगो लगाइने शाहले बताए।
मालेले विभिन्न चार शक्तिसँग सहकार्य गर्नुका साथै आवश्यक परेमा मोर्चाबन्दी गर्ने नीति पनि पारित गरेको छ। जसमा संसद बाहिर भएका कम्युनिस्ट, एमाले, माओवादीजस्ता 'प्रगतिशील' शक्ति, कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जस्ता शक्ति र पुरातन राजावादी शक्तिसँग आवश्यक मुद्धामा सहकार्य गर्ने नीति पारित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।