काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरू व्यावहारिक बन्नुपर्ने बताएका छन्।
सोमबार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरूका लागि नेतृत्वविकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरू व्यावहारिक बन्नुपर्नेमा जोड दिएका हुन्।
उनले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरू ठीक भए त्यसलाई कार्यान्वयन गर्ने र समय अनुसार परिवर्तन भएका कुराहरूमा सोही अनुरुप काम गर्न सहसचिवहरूलाई आग्रह गरे।
सैद्धान्तिक मात्रै नभई व्यावहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उनले राष्ट्रसेवक कर्मचारीहरू व्यावहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताए।
उनले नवनियुक्त सहसचिवहरूलाई आफू मातहतका कर्मचारीहरूलाई पक्षपातपूर्ण व्यवहार नगरीकन काम लगाउन पनि आग्रह गरे। कतिपय कर्मचारीहरूमा आफूलाई प्रशासक ठानी सबै काम अरुलाई लगाउने प्रवृत्ति रहेकोले त्यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न निर्देशन पनि दिए। प्रशासनभित्र संघीयता कार्यान्वनयमा ध्यान दिँदै कार्य सम्पादन गर्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।