काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याए।
उनले कृषि क्षेत्रको रुपान्तरणको निम्ति प्राथमिकता हुनुपर्ने बताए। कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उनको भनाइ छ।
‘कृषि क्षेत्रमा रुपान्तरण गर्ने कुराबाट हामी विमुख हुन सक्दैनौँ। हाम्रो फोकस नै त्यसमा हुनुपर्दछ। नेपाली अर्थतन्त्रको बलियो आधारशिला भनेको कृषि क्षेत्रको रुपान्तरण हो। कृषि क्षेत्रको आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र यसको यान्त्रिकीकरण गर्ने’, नेपालले भने, ‘यो काम गर्न सकियो भने मात्रै यसमा आमूल परिवर्तन गर्न सकिन्छ। कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको आवश्यकता छ।’
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनका लागि वामपन्थी शक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले किसानको हित र कल्याण गर्नु नै आफूहरूको राजनीतिको मूल विषय भएको उल्लेख गरे।
उनले सुकुम्बासीहरूको समस्या समाधानमा सरकारले ध्यान पुर्याउनुपर्ने बताए। अध्यक्ष नेपालले अव्यवस्थित रुपमा बसोबास गर्नेहरूलाई सरकारले गाँस, बास र कपासको प्रत्याभूति गराएर सुरक्षित ठाउँमा राख्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।