काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूको समूहमै ‘विद्रोह’ भएको छ।
आन्दोलनरत न्यायाधीश र नेपाल बार एसोसिएसनबीचको छलफलमा पाँच न्यायाधीश अनुपस्थित भएका छन्। उनीहरूले छलफलमा बस्न अस्वीकार गरेका छन्।
छलफलमा नबस्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल छन्।
उनीहरूले गोलाप्रथाबाट पेसी तोक्ने सहमतिको फुलकोर्टमा (पूर्ण बैठकमा) मात्र सहभागी हुने अडान राखेका छन्।
बाँकी न्यायाधीश र नेपाल बारबीच भने छलफल जारी छ। उनीहरूले साझा धारणा बनाउनेबारे छलफल थालेका हुन्। न्यायाधीशहरु र आफूहरुबीच छलफल जारी रहेको नेपाल बारका एक पदाधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
इजलासमा जाने कि नजाने भन्दै न्यायाधीशहरु अन्योलमा रहेको अवस्थामा बारले राणाले तोकेको इजलासमा नजान हिजो पत्र लेखेको थियो।
यसैबीच, सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका थिए।
नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायतका बार इकाइहरू न्यायापालिकाको अभिन्न अंग भन्दै राणाले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान गरेका थिए।
कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलन तीन हप्ता पुगेपछि मात्र राणाले वार्ताको लागि बारलाई आह्वान गरेका छन्। तर, बारले भने राणाको प्रस्ताव अस्वीकार गरिसकेको छ। नेपाल बार र सर्वोच्च बारका दुवै अध्यक्षले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो शर्त राणाको राजीनामा नै भएको सुनाए। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पत्रको जवाफ पत्रबाटै दिने तर, राणाको वार्ता प्रस्ताव आफूहरुलाई स्वीकार्य नभएको बताए।
‘वार्तामा बोलाउनु भएका प्रधानन्यायाधीशज्यू तपाईंले राजीनामा दिनुस्। अन्यसँग वार्ता गरौंला’, श्रेष्ठले भने ‘तपाईं अस्थायी हो। अदालतको चिन्ता हामीलाई धेरै छ। त्यसैले बर्हिगमन रोज्नुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।