काठमाडौं– भारतको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण गरिएको छ।
सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपीएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी गराएको हो।
कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नामग्यसी खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताइन्।
उनले नेपाललाई भारतले गोरखा, नुवाकोट र काठमाडौंलगायतका क्षेत्रमा साँस्कृतिक सम्पदाहरु पुनर्निर्माणमा सहयोग गरिरहेको बताइन्। उपप्रमुख खम्पाले नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार काम भएको बताइन्।
‘नेपाललाई भारतले पुनर्निर्माणको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ। सम्पदा संरचना लगायतका क्षेत्रमा सम्पदा पुनर्निर्माणका लागि धेरै रकम प्रदान गरेको छ’, उपप्रमुख खम्पाले भनिन्, ‘गोरखा, नुवाकोट र काठमाडौं लगायतका क्षेत्रमा भत्किएका भौतिक पुनःसंरचना निर्माणमा सहयोग गरेको छ। मलाई विश्वास छ भारत सरकारले उपलब्ध गराएको अन्य अनुदान पनि नेपाल सरकारले उचित स्थानमा प्रयोग गर्नेछ।’
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिए। उनले भारत सरकारले नेपाललाई पुनर्निर्माणका लागि धेरै स्थानमा सहयोग गरेको बताउँदै भारतले उपलब्ध गराउने रकम उचित क्षेत्रमा प्रयोग हुने बताए।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारी ढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले महत्त्वपूर्ण भूमिका खेलेको पनि स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।