काठमाडौं- नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पत्रको जवाफ पत्रबाटै दिने भएका छन्।
सोमबार प्रधानन्यायाधीशले आह्वान गरेको पत्रको जवाफका लागि नेपाल बारको पदाधिकारी बैठक सुरु भएको छ। त्यस्तै, सर्वोच्च बारले पनि पदाधिकारी बैठकपछि यसको जवाफ दिने तयारी गरेको छ।
प्रधानन्यायाधीश राणाले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायतका बार इकाइहरू न्यायापालिकाको अभिन्न अंग भन्दै राणाले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान गरेका थिए।
राणाले आफैं पत्रकारसँग संवाद नगरी सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालमार्फत् यसको जानकारी गराएका थिए। कात्तिक ८ गतेदेखि सुरु भएको आन्दोलन तीन हप्ता पुगेपछि मात्र राणाले वार्ताको लागि बारलाई आह्वान गरेका छन्। बारले आइतबार मात्र आन्दोलरत न्यायाधीशहरुलाई पत्र नै लेखेर राणाले तोकेको इजलासमा नबस्न आग्रह गरेको थियो। त्यसको भोलिपल्ट राणाले बारले धर्ना दिइरहँदा यस्तो विज्ञप्ति जारी गरेका थिए।
तर, बारले भने राणाको प्रस्ताव अस्वीकार गरिसकेको छ। नेपाल बार र सर्वोच्च बारका दुवै अध्यक्षले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो शर्त राणाको राजीनामा नै भएको सुनाए।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पत्रको जवाफ पत्रबाटै दिने तर, राणाको वार्ता प्रस्ताव आफूहरुलाई स्वीकार्य नभएको बताए।
‘वार्तामा बोलाउनु भएका प्रधानन्यायाधीशज्यू तपाईंले राजीनामा दिनुस्। अन्यसँग वार्ता गरौंला’, श्रेष्ठले भने ‘तपाईं अस्थायी हो। अदालतको चिन्ता हामीलाई धेरै छ। त्यसैले बर्हिगमन रोज्नुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।