काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज (सोमबार) पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नासहितका कार्यक्रम गर्दै छन्।
यसअघि आइतबार पनि नेपाल बारका पदाधिकारीसहितका कानुन व्यवसायीले अदालत गेटमा धर्नाका साथै विरोधका विविध कार्यक्रम गरेका थिए। आइतबार बिहान पनि साढे ९ देखि साढे ११ बजेसम्म सर्वोच्चको मुख्य प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम तय भएको नेपाल बार एशोसिएसनले जनाएको छ।
प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरेपछि आइतबार प्रधानन्यायाधीश जबरा महान्याधिवक्ताको कार्यालयतर्फबाट अदालत प्रवेश गरेका थिए। आइतबार सर्वोच्चबाहिर केही व्यक्तिले अदालत बन्द गर्न पाइँदैन भन्दै नाराबाजीसमेत गरेका थिए।
मन्त्रिपरिषद् सदस्यको भागबण्डालगायत विविध राजनीतिक प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएपछि उनको राजीनाको माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ। त्यसैगरी सर्वाेच्चकै न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।