काठमाडौं- नेकपा एकीकृत समाजवादीले अन्य पार्टी त्यागेर आफ्नो पार्टीमा आएका नेता कार्यकर्तालाई जिम्मेवारी प्रदान गरेको छ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार नेकपा एमाले परित्याग गरेर आएका बंशिधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरिएको छ। त्यस्तै, माओवादी केन्द्र परित्याग गरेर आएका रामचन्द्र झालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै सचिवालयमा राखिएको छ।
डडेल्धुराका एमाले अध्यक्ष परित्याग गरेर एकीकृत समाजवादीमा समाहित भएका तारादत्त जोशीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ। प्रवक्ता खतिवडाले अन्य नेता कार्यकर्ताहरुलाई पनि विभिन्न जिम्मेवारी प्रदान गरिएको जानकारी दिए। केन्द्रीय कमिटीको बैठकले यसअघिका राजनीतिक प्रस्ताव, विधान नियमावली लगायतका निर्णयहरूको अनुमोदन गरेको छ।
केन्द्रीय कमिटीको बैठकमा सातवटै प्रदेश र विभिन्न विभागका तर्फबाट रिपोर्ट प्रस्तुत भएका थिए। दश वटा समूह बनाएर बैठकमा छलफल भएको थियो।
बैठकले विपत् व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गर्दै अब देशभर नै विपत जनस्वयंमसेवक गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।