काठमाडौं- विवेकशील साझा पार्टीमा दुई समूह मिसिएका छन्। सो पार्टीद्वारा जारी विज्ञप्तिअनुसार विवेकशील साझा, सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीबीच एकता भएको हो।
विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमतिपत्रलाई अनुमोदन गरेको हो। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ। र, रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहने छन्।
सिटिजन्स डिसकसन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो।
'सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुने छन्। यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहनेछ। एकीकरणपश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ,' विवेकशील साझा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विवेकशील साझा पार्टीले हालै अनुमोदन गरेको 'मार्ग परिवर्तन : विचारभन्दा माथि देश' दस्तावेजलाई एकीकृत पार्टीले अङ्गीकार गर्दै अघि बढ्ने बताइएको छ। एकता घोषणा छिट्टै एक सार्वजनिक समारोहका माझ गरिने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।