काठमाडौं– सर्वोच्च अदालतका 'आन्दोलनरत' न्यायाधीशहरू सामूहिक छलफलमा जुटेका छन्।
नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको आन्दोलन चर्काइरहेको र राणाको पक्षमा समेत प्रदर्शन हुन लागेको अवस्थामा आइतबार दिउँसो सर्वोच्चका न्यायाधीशहरुको बैठक सुरु भएको हो।
छलफलमा प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै 'आन्दोलन'मा रहेका प्राय सबै न्यायाधीश सहभागी भएका जनाइएको छ। आइतबारको छलफलले सर्वोच्चमा दिएको विवादका विषयमा थप रणनीति बनाउने बताइएको छ।
आइतबार पनि नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले राणाको राजीनामा माग गर्दै सर्वोच्चको मुख्य प्रवेश द्वार (मूल गेट) अगाडि धर्ना दिएका छन्।
प्रधानन्यायाधीश राणा भने आइतबार पनि महान्यायाधीवक्ताको कार्यालय सँगैको वैकल्पिक बाटोबाट सर्वोच्च छिरे।
आइतबार प्रधानन्यायाधीश राणाको पक्षमा समेत केही युवाहरुले प्रदर्शन गरेका छन्। बारले भने भिजलान्ते र 'पूर्व मण्डले'हरू परिचालन गरेर आफूहरुको आन्दोलनलाई विथोल्न खोजिएको प्रतिक्रिया दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।