तस्बिर : देबबहादुर देउरालीले फेसबुकमा राखेको भिडियोबाट।
काठमाडौं- मुस्ताङको काेबाङमा भीषण हिमपहिरो खसेको छ। हिमपहिरोमा परेर एउटा घर भत्किएको छ भने भागदौडका क्रममा स्थानीय विद्यालयका एक शिक्षकसहित ९ जना घाइते भएका छन्।
थासाङ गाउँपालिका-२ को माथिल्लो क्षेत्रमा रहेको टुकुचे पिक हिमालबाट आइतबार बिहान ११ बजेर ४० मिनेटमा हिमपहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाल लाइभलाई बताए।
पहिरोपछि भागदौड हुँदा थासाङ गाउँपालिका–२ को जनआदर्श माविका एक शिक्षक र ८ जना विद्यार्थी सामान्य घाइते भएको प्रजिअ शर्माले बताए। उनका अनुसार घाइते सबैको उपचार भइसकेको छ। उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। साथै, विद्यालय पनि सुरक्षित नै छ।
घटनास्थल सदरमुकाम जोमसोमबाट १९ किलोमिटरको दूरीमा पश्चिम रहेको प्रजिअ शर्माले बताए। हिमपहिरोमा चरनका लागि लगिएका चौंरीलगायत परेको हुनसक्ने प्रजिअ शर्माले बताए।
'हिमपहिरो खसेको ठाउँ चरिचरण क्षेत्र हो। त्यसकारण चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ। मानिसलाई भने सुरक्षित स्थानतर्फ सारिसकेका छौं', प्रमुख जिल्ला अधिकारी शर्माले नेपाल लाइभसँग भने, 'दुईवटा चौरी गोठमा हिमपहिरोले क्षति पुर्याएको खबर आएको छ। हामी घटनास्थलमै छौं। थप बुझ्ने काम भइरहेको छ।'
हिमपहिरो तल आइपुग्दा माटोसहितको लेदो बगेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।