काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले सर्वोच्च परिसरभित्र धर्ना दिइरहेका छन्। धर्नाकै क्रममा सम्बोधन गर्दै अधिवक्ताहरुले प्रधानान्यायाधीशको राजीनामा नआई आन्दोलन नरोकिने बताएका हुन्।
नेपाल बार सधै लोकतन्त्र र विधिको पक्षमा रहेको वरिष्ठ अधिवक्ता शतीशकृष्ण खरेलले बताए। विंस २०३८ सालमा बारले लोकतन्त्र मागेको स्मरण गर्दै वरिष्ठ अधिवक्ता खरेलले बार सधैं अग्रगमनको पक्षमा रहेको बताए। सो समयमा नेताहरु भारतीय दूतावाससँग सहयोग माग्न गएको उल्लेख गर्दै उनले बारकै नेतृत्वको सडक आन्दोलनका कारण जनआन्दोलन सफल भएको बताए।
सबैपक्षबाट विरोध हुँदाहुँदै पनि राजीनामा नदिएको प्रसंग उल्लेख गर्दै उनले प्रधानन्यायाधीश जबरालाई निर्जज्ज व्यक्तिको संज्ञा दिए। ‘चोलेन्द्र कस्ता मान्छे हुन्, उहाँलाई लज्जा हुँदैन। कुन सम्मानको रक्षा गर्न चाहनुभएको छ,’ उनले भने।
अहिलेको प्रकरणमा प्रधानन्यायाधीशको राजीनामासँगै निश्चित व्यक्तिको सम्पत्तिसमेत छानविन हुनुपर्ने उनको भनाइ थियो। आगामी दिनमा बारले आवश्यक कानुनी प्रक्रियामा सहयोग गर्ने बताउँदै वरिष्ठ अधिवक्ता खरेलले प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।