काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवासायीको आन्दोलन जारी छ। कात्तिक १४ गतेदेखि सुरु आन्दोलन अझै सशक्त भएर अघि बढ्ने नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताइसकेका छन्।
आइतबार सर्वोच्च परिसरमा कानुन व्यवसायीले धर्ना दिए। प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भनेर उनीहरू धर्ना बसेपनि राणा भने वैकल्पिक बाटो प्रयोग गरेर अदालत छिरे। शुक्रबार पनि उनी यसरी नै अर्को बाटो प्रयोग गरेर अदालत छिरेका थिए।
राणाविरुद्धको आन्दोलनका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश तानाशाह बन्न खोजेको टिप्पणी गरे। उनले राणाले पदमा बस्ने नैतिकता गुमाइसकेको बताए।
'सैनिक तानाशाहकाविरुद्ध पनि सर्वोच्चले आदेश जारी गर्छ। राजा ज्ञानेन्द्रविरुद्ध पनि यस्तै भयो। तर, प्रधानन्यायाधीशलाई पनि तानाशाह जसरी हटाउनु परेको छ। बारको कार्यक्रमलाई बिथोल्न भाडाका मानिस ल्याउने काम भएको छ', कार्कीले भने, 'यसरी बस्ने प्रधानन्यायाधीश कसरी सम्मानित हुन सक्छ? प्रधानन्यायाधीशले कसरी आफैंले आफैंलाई सुनुवाइ गरिराख्नु भएको छ? यस्तो अनैतिक व्यक्ति इजलासमा बस्न सक्दैन।'
यस्तै, अधिवक्ता गोविन्द बन्दीले जनतालाई न्याय दिने अदालत चाहेको बताएका छन्। उनले कानुन मात्र हेर्न मात्र नभएर न्याय दिने प्रधानन्यायाधीश चाहिएको बताए।
'अमेरिकामा सिटिङ जजलाई पनि हत्कडी लगाउने आन्दोलन बारले गरेका थिए। राजा ज्ञानेन्द्रका विरुद्ध बार नै आन्दोलनमा उत्रिएको थियो। प्रधानन्यायाधीशमाथि गम्भीर आरोप छ। अन्तर्राष्ट्रिय संस्थाहरूले समेत प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्ने भनेका छन्', बन्दीले भने।
अधिवक्ता मेघराज पोखरेलले प्रधानन्यायाधीश मण्डलेहरूको नाइके भएको बताए। अब राजीनामा बाहेक अन्य विकल्प नरहेको उनले बताए।
'बिचौलियाका नाइकेले अब अदालत चलाउन सक्दैन। महाअभियोग राजनीतिक दलले गर्ने हो। बारलाई संविधान अनुसार याो माग गर्ने हक छ', उनले भने, 'राजीनामा संवैधानिक हक हो। संसद् विघटनका मुद्दामा प्रधानन्यायाधीशले दुईतिर राजनीतिक बिचौलिया गर्नु भएको रहेछ। राजनीतिक दललाई अदालतभित्र भित्र्याउने काम राणाले नै गर्नुभयो।'
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफूहरूको अन्तिम माग भनेको प्रधानन्यायाधीशको राजीनामा नै भएको बताए। उनले आफूहरूको आन्दोलनमा 'ब्याकगियर' नभएको बताए।
'फुलकाेर्ट बसेर निर्णय गरेपनि हामी मान्दैनाैं। हामी राणाकाे पूर्ण बहिर्गमनकाे पक्षमा छाैं, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।