काठमाडौं– रौतहटमा गएराति कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चारजना भारतीय नागरिकको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ।
चन्द्रनिगाहपुरबाट गौर तर्फ जाादै गरेको यू.के.१२सी २९०० नम्बरको कार राति करिब १०ः१५ बजतिर झुन्खुवाचौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक अनियन्त्रित भएर दुर्घटना भएको थियो। कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालयको टोलीले पानीमा डुबेको कारको सीसा फुटाएर कारभित्र रहेकालाई उद्धार गर्ने क्रममा चारै जनाको मृत्यु भइसकेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए।
मृतकहरुको सनाखत हुन नसकेको उनको भनाइ छ। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।
दुर्घटनाग्रत कार राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेको थियो। मदिरा सेवन गरेर गाडी चलाएको र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको विषयमा अनुसन्धान भइरहेको एसपी घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।