काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने भएको छ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले निर्वाचन समितिको कार्यतालिका केन्द्रीय समिति बैठकबाट पारित गराउने निर्णय गरेको हो।
बैठकमा महाधिवेशन सफल बनाउन व्यवस्थापकीय समिति बनाउनेबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसको निर्णय गराउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरिने उनले बताए।
यसैगरी विदेशस्थित जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नाम अनुमोदन केन्द्रीय समितिले गर्ने भएको छ। प्राप्त हुन नसकेका देशका जनसम्पर्क समितिलाई निश्चित अवधि उपलब्ध गराउने जनाएको छ।
'बैठकमा न्यायालयका विषयमा पनि कुरा उठ्यो। मुख्यतः महाधिवेशन र भोलि बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अजेण्डामा केन्द्रित भयो। केन्द्रीय समिति बैठकमा यस विषयमा थप छलफल होला। गठबन्धन दलका नेता सम्मिलित संयन्त्रका विषयमा व्यक्ति विशेषले केही कुरा उठाए पनि औपचारिक रुपमा उक्त कुराले प्रवेश पाएको छैन,' प्रवक्ता शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।