काठमाडौं- सिपी मैनाली नेतृत्वको नेकपा मालेले पार्टीको आठौं महाधिवेशनबाट जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अजेण्डा पारित गर्ने तयारी गरेको छ।
चितवनको भरतपुरस्थित कलामन्दिरमा शनिबार सुरु भएको पार्टीको आठौं महाधिवेशनमा महासचिव मैनालीले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई अजेण्डाका रुपमा अघि सारेका हुन्। अहिलेको बेलायती संसदीय मोडल फेल भएको निष्कर्ष निकाल्दै कार्यकारी प्रधानमन्त्री अघि सारिएको हो।
'नेपालमा बेलायतको संसदीय प्रणाली लागू भएको धेरै समय भयो। त्यो सफल हुन सकेन,' मालेका नेता महेन्द्र शाहले भने, 'पार्टीको आठौं महाधिवेशनबाट जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति बनाउने अजेण्डा पारित गर्नेछ।'
अहिले संसदीय प्रणालीले मुलुकलाई निकास दिन नसकेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेण्डा अघि सारिएको उनले बताए।
शनिबार उद्घाटन भएको महाधिवेशन आगामी सोमबार सकिनेछ। महाधिवेशनले पार्टीको दस्तावेज र साङ्गठनिक प्रस्ताव लगायत समग्र नेतृत्वसहित पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटीको टुङ्गो लगाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।