काठमाडौं- त्रिविका पूर्वउपकुलपतिले सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराएका छन्।
शनिबार पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त विषयबारे ध्यानाकर्षण गराएका हुन्।
न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन लामो समयदेखि भइरहेको बार एसोसिएसनको आन्दोलनले अविलम्ब निकास पाउन जरूरी रहेको उनीहरुले बताएका छन्।
'न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ? यस्तो स्थितिप्रति सरकार र राजनैतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो छ,' विज्ञप्तिमा भनिएको छ, 'जनताले सरकारलाई गैरजिम्मेवार र राजनैतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने हामी चाहन्छौं।'
मन्त्रिपरिषद्, संवैधानिक परिषद्लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेरपछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै नेपाल बारले आन्दोलन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।