फाइल तस्बिर
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो बैठक सुरु भएको छ।
शनिबार ललितपुरमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्तव्य राखेका थिए।
आफ्नो सम्बोधनमा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न नेकपा एकीकृत समाजवादी निर्माण गरी अगाडि बढेको बताए।
उआफूहरुले समृद्ध समाजवादको दिशामा जाने अठोट गरेको बताउँदै अब पार्टी र सरकार यही दिशामा केन्द्रित हुनुपर्ने उनले बताए।
'राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीको प्रभाव बढिरहेको छ। एमालेको साख दिन परदिन घट्दै गएको छ। हामीले गठबन्धन निर्माणमा प्रभावकारी भूमिका खेलेका छौं। संघीय र प्रदेश सरकारमा यथोचित नेतृत्व गरेका छौं,' उनको भनाइ थियो।
त्यस्तै, खनालले दक्षिणपन्थी अवसरवादतर्फ पार्टीलाई धकेल्ने, पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने, व्यक्तिस्वार्थ र पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटकपटक लत्याएकाले, पार्टीलाई बपौती बनाएर विधिअनुसार नचलाएकाले आफूहरुले एमालेबाट विद्रोह गरेको बताएका थिए।
'सैद्धान्तिक फौज नभइ पार्टी बन्दैन। अध्ययन शैलीमा सुधार गर्नुपर्छ। सैद्धान्तिक वैचारिक कामलाई नै प्राथमिकतामा राख्नुपर्छ,' उनको भनाइ थियो।
प्रदेश १ मा मुख्यमन्त्री राईले प्रदेश १ सरकार निर्माणको कठिनाइबारे चर्चा गरेका थिए। प्रदेशलाई नमुनायोग्य तरिकाले सञ्चालन गर्ने उनको भनाइ थियो। त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आफ्नो प्रदेशका सबै छात्रालाई पढाउने बताए। उनले बेरोजगारलाई मासिक ५० हजार कमाउन सक्ने गरी आयआर्जनसँग सम्बन्धित तालिम दिने जानकारी गराए।
महासचिव बेदुराम भुसालले जिल्लागत रिपोर्टिङको ढाँचा, प्रदेशको भावी योजना सुझाव आदिका लागि ढाँचा प्रस्तुत गरेका थिए। सबै प्रदेश, मोर्चा, संगठन, सम्पर्क कमिटीको समूह विभाजन भई छलफल अघि बढेको छ। बैठक भोलि पनि बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।