काठमाडौं- जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकाको देवपुरा रुपैठा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधि भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शनिबार निषेध आदेश जारी गरेका हुन्। उक्त क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ।
'आज केही उच्छृङ्खल व्यक्ति तथा समूहहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै तपसीलका चारकिल्लाभित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति २०७८/०७/२७ गते दिउँसो २:०० बजे देखि २०७८/०७/२८ गते राति १०:०० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको छ,' निषेध आदेशमा उल्लेख छ।
आदेश उल्लंघन गर्ने जो सुकैलाई प्रहरीले कानुनबमोजिम कारबाही गर्नसक्ने जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।