काठमाडौं- सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्।
अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणासमेत राखे। उनले दुनियाँमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दाबी गरे।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन? त्यस कारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ। उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ। हामी राजनीति गर्ने राजनीतिककर्मीहरुले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन।'
अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दाबी गर्दै त्यसलाई संशोधन नगरी अघि बढ्न नसकिने अडान दोहोर्याए। उनले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।